काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले देशमा राष्ट्रिय एकता र शान्ति कायम गर्न राजसंस्था फर्काउनु बाहेक अरू विकल्प नरहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै उनले हालैका दुःखद घटनाले मानिसलाई विभिन्न ध्रुवमा विभाजित गरेको र अराजकताबाट सत्ता कब्जा गर्ने प्रवृत्तिले देशलाई लामो अस्थिरतातर्फ धकेल्न सक्ने बताए ।
ढकालले लेखेका छन्, ‘जे भयो आवश्यक थियो, तर आवश्यकता भन्दा बढी पनि भयो । दुखद घटना घटे । मानिस विभिन्न ध्रुवमा विभाजित भएका छन्, राष्ट्रिय एकता र शान्ति आजको पहिलो आवश्यकता हो । अबको बाटो लामो अस्थिरतामा जान सक्छ, अराजकताबाट सत्ता कब्जा गर्ने प्रवृत्ति पटकपटक दोहोरिने खतरा छ ।’
उनले पूर्वराजा ज्ञानेन्द्रको फागुनको सम्बोधनलाई उद्धृत गर्दै भने, ‘राष्ट्र जोगाउने हो भने, हामीलाई साथ दिनुहोस् ।’ ढकालका अनुसार, उक्त सम्बोधनको खिल्ली उडाइए पनि अब राष्ट्र जोगाउन राजसंस्था फर्काउनु अपरिहार्य भएको छ । उनले भने, ‘मान या नमान, नेपालीमा बृहत्तर एकता र देशमा शान्ति कायम गर्दै, फेरि शून्यबाट यात्रा गर्नका लागि राजसंस्था फर्किनु बाहेकको विकल्प अब देशसँग रहेन ।’














