काठमाडौं । सेनासँग वार्तामा जुटिरहेको जेनजी समूहभित्र नेतृत्वको विषयमा मतभेद देखिएको छ। बुधबार साँझ भद्रकालीस्थित जंगी अड्डामा भेला भएका युवामध्ये एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीप्रति असन्तुष्टि जनाउँदै बालेन शाह र हर्क साम्पाङलाई नेतृत्वमा ल्याउनुपर्ने माग गरेका छन्।

जेनजी समूहका प्रतिनिधिहरू बुधबार जंगी अड्डामा वार्ताका लागि पुगेका थिए। तर, १५ जना भन्दा बढी सदस्य एकैपटक पुगेपछि सेनापति प्रशुराम सिग्देलले संयोजक तोकी मात्र वार्तामा आउन आग्रह गरेका थिए। त्यसपछि जंगी अड्डाकै एक कोठामा जेनजी प्रतिनिधिहरूबीच आन्तरिक बैठक भएको थियो।
बैठकमा केही प्रतिनिधिले गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रस्ताव राखेपछि रक्षा बम नेतृत्वको समूह असहमति जनाउँदै बैठकबाट बाहिरिएको थियो।
यसअघि बुधबार दिनभर सामाजिक सञ्जाल ‘डिस्कर्ड’मा जेनजी समूहभित्र नेतृत्वको विषयमा व्यापक छलफल भएको थियो। धेरै सदस्यले सुशीला कार्कीलाई समर्थन जनाए पनि केही सदस्यले बालेन शाह र हर्क साम्पाङजस्ता युवाहरूले नेतृत्व लिनुपर्ने धारणा राखेका थिए।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम अघि सारिएको भए पनि उनी प्रत्यक्ष सम्पर्कमा नआएको भन्दै केहीले गुनासो गरेका थिए। यद्यपि मंगलबार बेलुकी बालेनले सामाजिक सञ्जालमार्फत जेनजी समूहलाई सेना प्रमुखसँग वार्तामा तयार रहन आह्वान गरेका थिए।
जेनजी समूह र सेनाबीचको वार्ता हाल विभिन्न चरणमा भइरहेको छ। वार्ताबाट ठोस निष्कर्ष आएपछि राष्ट्रपतिसँग औपचारिक संवाद हुने तयारी छ।














