Logo
Logo

रवि लामिछानेको स्पष्टोक्ति: “जेलबाट स्वेच्छाले होइन, जबरजस्ती निकालिएको हुँ”


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागारबाट आफू स्वेच्छाले ननिस्किएको स्पष्ट पारेका छन् । एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले कारागार प्रशासनले भिड बढेपछि आफूलाई जबरजस्ती बाहिर निकालेको र आफूले “बिनापत्र जान्न्न” भनेको बताएका छन् ।

रविले आफू सरकारमा जान वा कुनै सत्ता दौडमा नलागेको भन्दै, आन्दोलनको नेतृत्व जेनजीहरूले नै गर्नुपर्नेमा जोड दिएका छन् । साथै, उनले आफू कुनै पनि बेला पुनः कारागार जान तयार रहेको संकेत पनि दिएका छन् ।


रवि लामिछानेका प्रमुख ५ बुँदामा भनाइः

१. जबर्जस्ती निकाले, म जान चाहेको थिइनँ:
“कारागारबाट म स्वेच्छाले निस्किएको होइन। भिड बढेपछि कारागारले जबर्जस्ती निकालेको हो। मैले बिनापत्र जान्न भनेको थिएँ, उनीहरूले जस्तो पत्र दिए, त्यस्तै सार्वजनिक गरिसकेको छु।”

२. सुरक्षा दिन नसक्ने जवाफ प्रहरी प्रमुखहरूबाट:
“मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीहरूलाई भने— मलाई नियन्त्रणमा लिनुस्, कस्टडीमा राख्नुस्। तर उहाँहरूले भन्नुभयो— तपाईं आफैँ सुरक्षित बस्नुस्, कारागारले सुरक्षा दिन नसकेरै निकालेको हो।”

३. न्यायिक निकायमा जानकारी गराइसकेको छु:
“सुरक्षा निकायको जवाफपछि म न्यायिक निकायहरूसँग सम्पर्कमा छु।”

४. म कुनै ‘रेस’ मा छैन, कुनै लाभ चाहिएको छैन:
“म सरकार बनाउन, सरकारमा जान वा सत्ताको दौडमा छैन। न कसैसँग बैठक गरेको छु, न कुनै योजना बनाएको छु। मलाई वा मेरो नेतृत्वको रास्वपालाई कुनै पनि लाभ चाहिएको छैन। लाउड एन्ड क्लियर!”

५. आन्दोलनको नेतृत्व जेनजीकै हो:
“यो आन्दोलन जेनजीहरूको हो। नेतृत्व पनि उनीहरूले नै लिनुपर्छ। म कानुनी रूपमा लडिरहेको छु र लडिरहनेछु।”


गुनासो : “सरकार छैन, सुरक्षा छैन, कारागारले बाहिर निकाल्छ – म कहाँ जाऊँ?”

रविले आक्रोश पोख्दै भने,
“सरकार छैन, सुरक्षा निकाय भन्छ– आफैं सुरक्षित बस। जेलले भन्यो– जा। सडकमा हातमा आगो लिएका भिड छन्। भन्नुस्, म बाँच्न पाउने कि नपाउने?”

उनले थपे,
“कांग्रेस–एमाले हुँदै जेनजीको आन्दोलनसम्म आइपुग्दा पनि म माथिको अन्याय हटेको छैन। ओली र देउवाले लगाएको झूटो मुद्दा अझै खेपिरहेको छु।”

प्रतिक्रिया दिनुहोस्