काठमाडौं । गैरसरकारी महासंघ, सुमदायिक रेडियो प्रसारक संघ, माव अधिकार एलाइन्सलगायत ६५ संस्था तथा अभियानीले संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न अपिल गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले जेनजी पुस्ताको भावनालाई समेत सम्बोधन गरी सरकार गठन र विधिको शासन लागू गर्न अपिल गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको सम्मान गर्दै अहिलेको परिवर्तनको मागलाई सम्बोधन गर्न विद्यमान हाम्रो देशको संवैधानिक व्यवस्थाभित्र रहेर र जेनजी पुस्ताका भावनालाई समेत सम्बोधन हुने गरी सरकार गठन र विधिको शासन लागू गर्न हार्दिक अपिल गर्दछौँ ।’ अहिलेको अवस्थामा वार्ता, संवाद र छलफल गर्न नागरिक समाजले सहजीकरण गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, राजनीतिक संकट र आन्तरिक द्वन्द्वतर्फ बढ्ने र अन्तर्राष्ट्रिय हस्तक्षेप हुनेमा सचेत रहन समेत ध्यानाकर्षण गरिएको छ ।














