Logo
Logo

भैरहवामा शान्ति सद्भाव र्‍याली, हिंसामुक्त समाधानको सन्देश


पुनहरि बेल्बासे

378
Shares

भैरहवा । देशभर जेन्जी समूहको आन्दोलनका कारण तन्किएको अशान्ति र अव्यवस्थाबीच शुक्रबार बिहान भैरहवामा एक भिन्न दृश्य देखियो । भारतीय सीमावर्ती क्षेत्र बेलहियाबाट विभिन्न संघसंस्थाका प्रतिनिधिहरू शान्ति सन्देशका लागि पैदल यात्रामा निस्किए । र्‍यालीमा सहभागीहरुको अनुहारमा आन्दोलनका हिंसात्मक गतिविधिप्रति असन्तोष र शान्तिपूर्ण निकासप्रति विश्वास झल्कन्थ्यो ।

बेलहियाबाट सुरु भएको र्‍याली सडकभरि शान्तिको नारा लगाउँदै भैरहवाको देवकोटा चोकमा पुगेर रोकियो । ‘मुलुकलाई निकास दिन हुलदङ्गा होइन, वार्ता र सहमति चाहिन्छ’ भन्ने भावनाले सम्पूर्ण यात्रालाई आत्मसात गरेका थिए ।

लुम्बिनी प्रेस क्लबको नेतृत्वमा आयोजित ¥यालीमा सिद्धार्थ उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्स, सिद्धार्थ सञ्जाल, सिद्धार्थ सार्वजनिक यातायात प्राली, नेपाल भन्सार एजेन्टसँग सिद्धार्थनगर लगायतका विभिन्न सामाजिक संघसंस्थाहरूको प्रतिनिधित्व रहेको थियो ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाजीले लुम्बिनीको ऐतिहासिक सन्देश स्मरण गर्दै भने, ‘विश्वमा जस्तै देशभित्र पनि शान्ति फैलियोस् भन्ने उद्देश्यले यो ¥याली आयोजना गरिएको हो ।’

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले सहभागी विभिन्न संघसंस्था एकताबद्ध भएर समाजमा भाइचारा, सद्भाव र सहकार्य कायम गर्न यो पहल गरिएको बताए ।

¥यालीमा सहभागीहरूमा उत्साह झल्कन्थ्यो। उनीहरू सडकमा हिँडिरहेका मात्र थिएनन्, शान्तिपूर्ण समाजको आकांक्षा बोकेर नागरिकको साझा आवाज पनि मुखरित गरिरहेका थिए। भैरहवाको सडकमा केही घण्टासम्म गुञ्जिएको शान्तिको नारा देशभरका लागि मार्गदर्शक सन्देशझैं अनुभूत भयो ।

प्रतिक्रिया दिनुहोस्