
काठमाडौं । इजरायलले एकैसाथ ६ देशमाथि आक्रमण गरेको छ । पछिल्लो ७२ घण्टाभित्र इजरायली सेनाले मुस्लिम देशहरूलाई निशाना बनाएर आक्रमण गरेको हो ।
जसमा प्यालेस्टाइनको गाजा, सिरिया, लेबनान, कतार, यमन र ट्युनिसियामा इजरायली आगो सल्केको हो । यी आक्रमणहरूमा लगभग २०० जनाको मृत्यु भएको छ र एक हजारभन्दा बढी मानिसहरू घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
कतार आक्रमण
इजरायली सेनाले मंगलबार दोहामा हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणबाट अल–हय्याका छोरा, कार्यालय निर्देशक, तीन सुरक्षाकर्मी र एक कतारी सुरक्षा अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो । तर निसानामा हमासका प्रमुख खलील अल–हय्या रहेको इजरायलको दाबी छ ।
लेबनान आक्रमण
इजरायलले सोमबार पूर्वी लेबनानको बेका र हरमेल जिल्लामा हवाई हमला गर्दा पाँचजनाको मृत्यु भएको छ । मंगलबार इजरायली ड्रोनले हिजबुल्लाहका एक सदस्यमाथि आक्रमण गरेको थियो ।
इजरायली सेनाले आक्रमणमा हिजबुल्लाहका सैन्य अखडाहरूलाई निशाना बनाएको दाबी गरेको छ । यसबारे हिजबुल्लाहले कुनै प्रतिक्रिया नदिएको बताइएको छ । सन् २०२४ नोभेम्बरमा इजरायल र लेबनानबीच युद्धविराम भए पनि इजरायलले लेबनानको दक्षिणी भागमा आक्रमण जारी राखेको छ ।
सिरिया आक्रमण
इजरायली लडाकु विमानहरूले सोमबार सिरियाको वायुसेना अड्डा र सैनिक शिविरमाथि आक्रमण गरेका थिए । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार यसमा कुनै मानवीय क्षतिको खबर आएको छैन ।
सिरियाको विदेश तथा प्रवासी मन्त्रालयले उक्त आक्रमणहरूलाई देशको सार्वभौमिकताको उल्लंघन भन्दै इजरायल राष्ट्रिय र क्षेत्रीय सुरक्षाका लागि खतरा भएको बताएको छ ।
सिरिया र इजरायलबीच सन् १९७४ मा सैन्य फिर्ता सम्झौताअन्तर्गत एक–अर्कालाई आक्रमण नगर्ने सहमति भएको थियो । तर, गत वर्ष डिसेम्बरमा सिरियाका पूर्व राष्ट्रपति बशर अल–असदको पतनपछि इजरायली सेनाले सिरियाका सैन्य अखडाहरू र पूर्वाधारलाई लगातार निशाना बनाउँदै आएको छ ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सको रिपोर्ट अनुसार, यो वर्ष इजरायलले सिरियामा ८६ हवाई र ११ वटा स्थलगत आक्रमण गरेको छ । उक्त आक्रमणमा ६१ जनाको मृत्यु भएको छ । १३५ स्थानहरूलाई निशाना बनाइएको छ ।
ट्युनिसिया आक्रमण
इजरायली ड्रोनले सोमबार राति ट्युनिसियाको बन्दरगाहमा एउटा पारिवारिक डुंगामाथि आक्रमण गरेको थियो । पोर्चुगिज झण्डा लगाएर यात्रा गरिरहेका उक्त डुंगामा ६ जना सवार थिए । प्यालिस्टिनी समर्थित ग्लोबल सुमुद फोलिटिला (जीएसएफ)का अनुसार उक्त आक्रमणमा कुनै मानवीय क्षति भएन ।
यो समूह इजरायलले गाजामा लगाएको नाकाबन्दीविरुद्ध खाद्यन्नसहितको जहाज लिएर गाजाको यात्रामा रहेको बताइएको छ ।
इजरायली ड्रोनले मंगलबार पनि बेलायतको झण्डा फहराएर यात्रा गरिरहेको जहाजलाई निशाना बनाएको थियो । सन् २०१० देखि हालसम्म गाजा क्षेत्रमा प्रवेश गर्न खोज्ने जहाजहरूमाथि इजरायली ड्रोनहरूले आक्रमण गर्दै आएका छन् ।
यमन आक्रमण
इजरायलले बुधबार यमनको राजधानी सानामा १५ दिनभित्र दोस्रो पटक आक्रमण गरेको छ । आक्रमणमा ३५ जनाको मृत्यु भएको बताइएको छ । जसमा हुथी अखडाहरूलाई निशाना बनाइएको थियो । आक्रमण साना विमानस्थलमा भएको थियो ।
यसअघि, अगस्ट २८ मा इजरायलले सानामा गरेको आक्रमणमा हुथी प्रधानमन्त्री अहमद अल–रहावीसहित १० जनाको मृत्यु भएको थियो । घटनामा ९० जना घाइते भएका थिए ।
गाजा आक्रमण
इजरायली आक्रमणहरूबाट सोमबार गाजामा करिब १५० जनाको मृत्यु भएको छ । ५४० जना घाइते भएका छन् । सन् २०२३ देखि हालसम्म गाजामा ६४ हजार ६०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएको बताइएको छ । गाजामा हालसम्म ४०० मानिसहरू भोकमरी र हजारौँ जना भग्नावशेषमा पुरिएको बताइएको छ । गाजाको लगभग ७५ प्रतिशत हिस्सा इजरायली कब्जामा रहेको छ ।











