काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनको क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू आफूलाई पठाउन अनुरोध गरेको छ ।

नेपाल प्रहरी एक सूचना जारी गर्दै भनेको छ,’यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ ।
तपाईँहरूको गोपनीयता कायम रहनेछ ।’
आन्दोलनका क्रममा मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको सरकारी निवास, प्रधानमन्त्रीको निजी निवास, पूर्वप्रधानमन्त्री निवास, अन्य नेता र मन्त्रीहरूको निवास, सयौँ प्रहरी चौकी, देशभरका अधिकांश सरकारी कार्यालय र राजनीतिक दलका कार्यालयहरू ध्वस्त भए । यस्तै,निजि व्यवसायीका घर,उद्योग, होटल र महलमा आगजनी गरिएको छ ।














