काठमाडौं । ६ महिनाभित्र प्रतिनिधिसभाको अर्का निर्वाचन गराउनु नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार हो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई शुक्रबार राति प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
जेनजी युवाको आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारको नेतृत्व निर्भिक महिलालाई प्राप्त भएको छ । कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम समेत गरेकी छन् । उनले विकसित संक्रमणकाललाई निर्वाचनमार्फत पार लगाउने गहन दायित्व प्राप्त गरेकी छन् ।
यही भदौ २३ र २४ गते जेनजी युवाले गरेको आन्दोलनको बलमा एकाध दिनभित्रै सरकारमा आएको परिवर्तनपछि प्रधानमन्त्रीका रुपमा कार्कीले जिम्मेवारी सम्हालेकी हुन् । शुक्रबारको सपथ ग्रहण समारोहमा ठूलो उपस्थिती थिएन ।
परिस्थितिलाई ध्यानमा राखेर केही उच्चपदस्थ मात्रै सहभागी थिए । राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थिती थियो ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ पनि सहभागी थिइन् । समारोहमा अमेरिका, चीन, भारतलगातयका देशका राजदूतको सहभागिता थियो भने आन्दोलनरत पक्षका रुपमा जेनजी युवाहरुको सहभागिता थियो ।
नवनियुक्त प्रधानमन्त्री कार्कीका श्रीमान दुर्गा सुवेदी पनि उपस्थित थिए ।सपथ ग्रहणपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई शुभकामना दिए । शुभकामना दिँदै उनले देश सफल होस् भन्ने कामना पनि गरे । ‘तपाईंलाई धेरै धेरै बधाई । तपाईं सफल हुनुस् । देश सफल होस् । जनता बचून्,’ शुभकामना दिँदै उनले भने ।














