Logo
Logo

संसद विघटनपछि बाबुराम भट्टराईले भने- दोस्रो राम्रो विकल्प यही हो


3.7k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूहरूले भनेबमोजिम नभए पनि प्रधानमन्त्री नियुक्ति र संसद् विघटन दोस्रो विकल्प भएको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्दै नवगठित सरकारको सिफारिसबमोजिम संसद् विघटन गराएकी छन् ।

डा भट्टराईले शनिबार बिहान विज्ञप्ति जारी गर्दै संसद् विघटन दोस्रो राम्रो विकल्प भएको बताएका हुन् । ‘हामीले भनेबमोजिम उत्तम नभएपनि दोस्रो राम्रो विकल्प यही हो । जेनजी विद्रोहपछिको नयाँ परिस्थितिमा आन्दोलनकारीहरूसँग सहमति गरेर आकस्मिक संसद् बैठकबाट संविधानमा संशोधनसहित नयाँ प्रमको नियुक्ति र नयाँ प्रमको सिफारिसमा संसद् विघटन गरेर नयाँ निर्वाचनमा जान पाएको भए उत्तम हुन्थ्यो । त्यो आन्दोलनकारीहरूले नमानेपछि र पुराना दलहरूले पनि आलटाल गर्ने सम्भावना भएपछि दोसो राम्रो विकल्प यही हो’ भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले अगाडि भनेका छन्, ‘राष्ट्रपतिले राष्ट्रध्यक्षको रूपमा संविधानले सामान्यतः दिने (भलै संविधानमा प्रस्ट छैन!) अधिकार र जिम्मेवारी प्रयोग गर्दै पहिले संसद्बाहिरबाट नयाँ प्रम नियुक्त गर्ने र शपथग्रहणपछि नयाँ प्रमले सिफारिस गरेबमोजिम राष्ट्रपतिले नयाँ निर्वाचन र संसद्को विघटन सँगसँगै गर्ने विधि नै दोस्रो राम्रो विधि हो। मैले पनि सम्बन्धित सबै पक्षलाई यही सुझाव दिएको थिएँ ।’

उनले नेपाली इतिहासको अर्को महत्वपूर्ण मोड भएको उल्लेख गर्दै अग्रगामी वैकल्पिक राजनीति पक्षधर सबैले यसलाई ठिकसँग ग्रहण गर्न र नयाँ वैकल्पिक राजनीतिक बृहत् ध्रुवीकरणमा लाग्न अपिलसमेत गरेका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्