Logo
Logo

‘न दाजुको न भाइको, कांग्रेस कांग्रेसजनको’ भनेर अगाडी बढौं : शेखर


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले समयको पदचाप अनुरूप हिँड्न नजान्दा जेनजी आन्दोलनले दुई ठूला राष्ट्रिय दललाई सत्ताबाट बाहिरिन बाध्य पारेको बताएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्दै नेता कोइरालाले समाज र युवाको भावना अनुसार काम गर्न नसक्दा, हिड्न नजान्दा जेनजी आन्दोलनले दुई दिनमै दुई ठूला राष्ट्रिय दललाई सत्ताबाट बाहिरिन बाध्य पारेको बताएका हुन् ।

‘नेपाली समाज र यहाँका उर्जावान युवाहरु एकातिर छन् । कांग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो, केही रणनीतिक भूलहरु भए, हामी चुक्यौं,’ उनले भनेका छन्, ‘समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा हामी समर्पित हुनेछौं भन्ने प्रण गर्छौं ।’

साथै उनले कांग्रेस हिजो कहाँ चुक्यो, के भयो र के हुनुपथ्र्यो भन्नेमा बहस भन्दा पनि नयाँ बनेको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान दिन सबैलाई आग्रह गरेका छन् ।

कोइरालाले लोकतान्त्रिक समाजवादको दियोलाई हिमाल, पहाड र तराई– मधेसमा कांग्रेस नेता र कार्यकर्ताहरुले अनेकन कष्ट, यातना र बलिदान दिएर निभ्न नदिएको विषय नै कांग्रेसको प्रेरणाको स्रोत रहेको बताएका छन् ।

‘आज फेरी एकपटक लोकतान्त्रिक इतिहाँसका ति योद्धा, नेता र शहिदहरुलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्नेछ,’ उनले भनेका छन्, ‘हामीसँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय छैन। निश्चय नै विगतमा हामी आम नेपाली दाजुभाइ दिदीबहिनीहरुले गरेको अपेक्षा अनुरुप खरो उत्रिन सकेनौं होला । यसका लागि गर्नुपर्ने प्रायश्चित गर्न हामी पछि पर्दैनौं, गर्नुपर्छ ।’

सत्ता र पार्टीको केन्द्रमा को छ भन्ने विषय पनि अब गौण बनेको बताउँदै उनले बरू जनताको केन्द्रमा बस्ने अभियानमा कांग्रेस लाग्नुपर्ने बताएका छन् । यसका लागि ‘न दाजुको न भाइको, कांग्रेस कांग्रेसजनको’ भनेर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
‘जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः तपाई हाम्रो जिम्मेवारीमा आउँछ । विपी कोइरालाको दिव्यवाणी सम्झौं ‘नेपाल पक्कै ब्यूँझिन्छ जय नेपालको नाराले’ फेरी एकपटक देशभरि यसलाई बुलन्द गरौं,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्