Logo
Logo

आजदेखि यातायात कार्यालय पनि खुल्ने, मालपोतले आइतबारदेखि सेवा दिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ भदौ ।

उपत्यकाका यातायात कार्यालयहरुले आजदेखि निश्चित सेवा सुचारु गर्ने भएका छन् । लाइसेन्स नवीकरण, प्रमाणिकरण, प्रतिलिपि र ट्रायल पास भएकाको हकमा रसिद काट्ने काम बिहीबारदेखि सुचारु हुने सानो भञ्याङस्थित यातायात कार्यालयका सूचना अधिकारी उपेन्द्र साहले जानकारी दिए । चाबहिल, जगाती र एकान्तकुना कार्यालयले पनि यी सेवा दिने भएका छन् । लाइसेन्स वितरण भने तत्काल सुचारु नहुने भएको छ । होम डेलिभरी प्रणालीमार्फत लाइसेन्स वितरणको लागि कानून संशोधनको काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।


भदौ मसान्तसम्म लाइसेन्स नवीकरणमा जरिवाना नलाग्ने निर्णय सरकारले गरेकाले बिहीबारदेखि नै सेवा सुचारु गर्न लागिएको सानो भञ्याङ कार्यालयका सूचना अधिकारी साहले बताए । नयाँ सवारी दर्ता, नामसारी ब्लुबुक नवीकरणको सेवा कहिलेदेखि सुरु गर्ने तय भएको छैन ।
उता उपत्यकाका मालपोत कार्यालयहरुले भने आइतबारदेखि सेवा सुचारु गर्ने तयारी गरेका छन् । सबै मालपोत कार्यालय खुला नै रहेको तर सेवा भने आइतबारदेखि सुचारुको तयारी भइरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।
उपत्यकामा संक्रमण बढेपछि एक महिनाअघि मालपोत कार्यालयले सेवा बन्द गरेको थियो ।
उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा खुकुलो गर्ने भएपछि सरकारी कार्यालयहरुले सेवा सुचारु गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्