काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा भएको पूर्वाधार क्षतिलाई तत्काल पुनर्निर्माण गर्ने र देशलाई विद्युतीय सवारीसाधनको युगमा प्रवेश गराउने निर्णय गरेका छन् । मन्त्री घिसिङले सोमबार पदभार ग्रहण गरेपछि यस्तो निर्णय गरेका हुन् ।

मन्त्री कुलमानले विद्युतको खपत बढाउन भन्दै इन्धन सवारीलाई अब विद्युतीयमा कन्भर्ट गर्नुपर्ने र विद्युतको खपत बढाउने गरी पूर्वाधार बनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘हामीसँग विद्युत छ । प्राविधिक र म्यानेजरियल समस्या होलान् । त्यसलाई समाधान गर्दै पेट्रोल, डिजल र ग्यासको इम्पोर्ट घटाउँदै लैजानुपर्छ । जसले आयात खर्च रोकिन्छ र विद्युतको खपत बढ्छ ।’
मन्त्री घिसिङले सवारीसाधन र भान्छामा विद्युत प्रयोग गर्नासाथ धेरै कुरा समाधान हुने बताउँदै भने, ‘त्यसका लागि पूर्वाधार बनाउनुपर्छ ।’ उनले सबै कुरा विद्युतबाट चलाउँदा देशलाई लाभ हुनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।
दीर्घकालीन रूपमा उनले नेपाललाई पूर्णरूपमा विद्युतीय ऊर्जामा आधारित प्रणालीमा लैजाने महत्वाकांक्षी निर्णय गरेका छन् । उनले भने, ‘विद्युतीय सवारीसाधनको प्रयोगमा नेपाल विश्वमै टप कन्ट्रीमा पर्छ । अब सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, रेल, मेट्रो र सवारीसाधन विद्युतबाटै चलाउनुपर्छ ।’ जसले पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा बचाउनुका साथै सन् २०४५ सम्मको कार्बन न्युट्रल लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने उनको दावी छ ।
यस्तै मन्त्री घिसिङले हाल जेनजीको प्रदर्शनका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मन्त्रालय अन्तर्गतका संरचनामा पुगेको क्षति र सडक पूर्वाधारमा बाढी पहिरोका कारण पुगेको क्षति मन्त्रालयको सबैभन्दा चुनौतीपूर्ण विषय भएको बताए ।











