काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गर्दै जीएआरएस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधिकारिक डिलर चयन गरेको छ । यसअन्तर्गत धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम उद्घाटन गरिएको हो ।

सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल र जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा मंगलबार शोरूम उद्घाटन गरेका थिए । नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिमभरका ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडल–टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी–सजिलै खरिद गर्न सक्नेछन् ।
यस्तै, आइसिई मोडलअन्तर्गत टाटाका टियागो, पंच, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन्। पंचले नेपाली बजारमा सिटी एसयूभीका रूपमा लोकप्रियता पाएको छ भने सफारीले आफ्नो मजबुत बनावट, लक्जरी सुविधा र सुरक्षा विशेषताका कारण विशेष स्थान बनाएको छ ।
सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो अफ्टर–सेल्स सेवा तथा ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
‘यो शोरूममार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडल नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौं,’ जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले भने ।
सिप्रदी ट्रेडिङको डिलर सेल्स विभागका सिनियर म्यानेजर मेघराज ढुंगेलले धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको बताए । सोही कार्यक्रममा टाटाको गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण पनि गरिएको कम्पनीले जनाएको छ ।











