काठमाडौं । वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न युएई जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । बिहीबार टियु मैदान किर्तिपुरमा क्यानले आयोजना गरेको कार्यक्रमा राखेप सदस्य सचिव टंकलाल घिसिङ र क्यान पदाधिकारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेका हुन् ।

नेपालले युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ट्वान्टी-२० शृङ्खला खेल्दैछ । जसमा नेपालले आगामी असोज ११, १३ र १४ गते खेल्नेछ । यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृङ्खला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ ।
छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ । बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजसँगको सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण रहेको भन्दै टिमले राम्रो तयारी गरेको र खेलाडी तयार रहेको बताए । उनले विश्वकप छनोटका लागि पनि त्यसअघिको खेलमा विशेष ध्यान दिएको उल्लेख गरे ।
बिदाइ कार्यक्रम अघि टियु मैदान किर्तिपुरमा जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा नेपाली क्रिकेट टोलीले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका थिए । आन्दोलनका क्रममा क्रिकेट खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको थियो ।











