काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक भारी अङ्कले उकालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ६ प्रतिशत घटेर बन्द भएको नेप्से, आज साढे ४ प्रतिशत बढेर बन्द भएको हो ।
आइतबार नेप्से परिसूचक १११.७० अङ्क बढेर २६२३.६२ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १९.०७ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ७.५३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.२५ अङ्क बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि उच्च बढेको छ । जेनजी आन्दोलन अघि दैनिक औषतमा ५ अर्बको कारोबार भइरहेको बजारमा आज ३२९ स्टकको १ लाख ८ हजार ९०८ पटकको कारोबारमा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँबराबरको २ करोड ३२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
१६ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिन्धु विकास बैङ्क, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गुडविल फाइनान्स, शिवम् सिमेन्ट्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ६० स्टकको मूल्य घटेको छ । जसमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ७।६४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८३ करोड १३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ४८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार रकम ३० करोड नाघेको छ ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.६६ प्रतिशत बढेको छ । लगानी उपसमूहको परिसूचक साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैङ्क उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.०३ प्रतिशत घटेको छ । त्यसैगरी, म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ ।











