काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड ट्रङ्क लाइनको बक्यौता उठाउने निर्णयलाई कार्यान्वयन गर्ने बताएका छन् ।

मङ्गलवार प्राधिकरण पुगेर पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक सिलवालले ऊर्जा मन्त्रालयले डेडिकेटेड ट्रङ्क लाइनको बक्यौता उठाउने निर्णय गरिसकेकाले उक्त निर्णयलाई प्राधिकरणले कार्यान्वयन गर्ने बताएका हुन् । यसका लागि पहिला भएको निर्णयलाई अध्ययन गरी पुनरावलोकन गरिने उनको भनाइ छ । उनले आन्तरिक संरचना सुधार गर्दै प्राधिकरणलाई अघि बढाउन दीर्घकालीन योजना बनाइने , २४ सै घण्टा विधुत आपूर्ति लगाएतमा ध्यान दिने बताए ।
त्यस्तै, कर्मचारीले गरेको स्वागत कार्यक्रममा नवनियुक्त कार्यकारी निर्देशक सिलवालले जस्तोसुकै चुनौती आए पनि त्यसलाई पार गर्दै अघि बढ्ने बताए । उनले प्राधिकरणमा लामो समय नेतृत्वमा रहेका व्यक्ति नै अहिले ऊर्जामन्त्रीमा रहेकाले काम गर्न कुनै कठिन नहुने र अहिलेको अवसरलाई प्रयोग गर्नुपर्ने उल्लेख गरे । आफूले राजनीतिक नियुक्तिको अर्थ बुझेको भन्दै उहाँले जति समय प्राधिकरणमा रहेपनि सुधार गरेर नै बिदा लिने बताए ।
उनले आफू फोटो टास्नका लागि नभई काम गर्नका लागि प्राधिकरणमा आएको बताए । अन्तरिम सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।














