Logo
Logo

सिन्धुपाल्चोक पहिरो : अध्यक्ष दाहालद्वारा उद्वार र राहतमा जुट्न आग्रह


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको बाढी पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले पहिरामा परेर हराइरहेकाको खोजी कार्यलाई प्रभावकारी बनाउँदै राहतमा जुट्न समेत सबैमा आह्वान गरेका छन् ।
‘दुःखद क्षणमा पहिरामा बेपत्ताको खोजी, उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासहित सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु’, अध्यक्ष दाहालद्वारा आइतबार जारी वक्तव्यमा भनेका छन् ।
शनिबार राति गएको उक्त पहिरामा परेका ९ जनाको शव फेला परेको छ । अन्य २२ जना हराइरहेका छन् । पहिराले १९ घर पुरिनाका साथै २२२ घर उच्च जोखिममा रहेको जनाइएको छ ।
सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानमा केही महिनादेखि पहिराबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ । यस्ता पहिरो जाने सम्भावित स्थानको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकको स्थानान्तरण गर्नसमेत उहाँले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘उनीहरुलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु ।’ साथै, अध्यक्ष दाहालले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्