काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई ट्रमा सेन्टरमा पुगेका छन् । शनिवार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको जानकारी दिए । ‘शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन, भविष्यमा के हुन्छ ? भन्ने छ’ उनले भने, ‘कुनै बिरामीले पनि उपचार पाएन भनेर कम्प्लेन गरेको पाइनँ ।’
‘बिरामीहरूको माग मुद्दाहरू नै जेन जी आन्दोलनको माग मुद्दा हो । हामी देशको लागि लडेका हौँ । हामीले देशका लागि रगत बगाएका हौँ । हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको छ,’ उनले भने ।
उनले थपे, ‘स्वास्थ्य उपचार राम्रो भएको छ । ठिकै छ । प्रत्यक्ष निर्वाचित भनेको अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन । यो राजनीति हो । अहिले गर्न सकिँदैन भन्ने कुरा आइरहेको छ । परिस्थिति कुन बेला के हुन्छ, त्यो थाहा छैन ।’














