काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिले शनिबार बाह्रविसेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरीले मात्रै नभए अन्यत्रबाट पनि गोली चलेको आशङ्का गर्दै छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए ।
‘नेपाल प्रहरीको बन्दुकको गोलीले मात्रै बच्चा मरेका छन् कि बाहिरबाट आएका बन्दुकको गोलीबाट पनि बच्चा मरेका छन् भन्ने यो सरकारले छानबिन गर्नुपर्छ । उचित ढङ्गले सजाय दिन सक्नुपर्छ,’ उनले भने ।
जेनजीको माग सकारात्मक रहेको भन्दै उनले आन्दोलनका क्रममा विभिन्न शक्तिले घुसपैठ गरेको हुनसक्ने उनले बताए । बस्नेतले आन्दोलनका क्रममा आफ्नो घर जलाएर कुनै फरक नपर्ने उल्लेख गर्दै अव हिजोको भन्दा पनि अझ प्रभावकारी र सक्रिय रूपमा आफ्नो कामलाई अघि बढाउने जिकिर गरे ।
‘हामीले देखेका छौँ, संसद् भवन अघि मान्छे ढाल्दा एम्बुलेन्सबाट आएका मान्छेले पनि गोली सुट गरेको देखिएको छ,’ उनले भने । उनले मुलुकको पछिल्लो अवस्थामा पनि कांग्रेसले उचित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।














