काठमाडौं । दसैँ अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार सामान्य अङ्क घटेर बन्द भएको नेप्से, आज आइतबारे सामान्य अङ्क बढेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक ११.५१ अङ्क बढेर २६६३.५१ विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.२२ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अङ्क बढेको छ ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । गत बिहीबार ३ अर्ब २६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ३९ हजार ८५९ पटकको कारोबारमा २ अर्ब ९३ करोड ५९ लाख १४ हजार रुपैयाँबराबरको ७५ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको इकाईमूल्य ८९ पैसा बढेर ९ रुपैयाँ ७९ पैसामा अन्तिम कारोबार भएको छ भगवती हाइड्रोपावरको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने यूनियन हाइड्रोपावरको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने शिवम सिमेन्ट्को कारोबार रकम ८ करोड नाघेको छ ।
१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत घटेको छ । होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।











