काठमाडौं । वेस्ट इन्डिजलाई लगातार दोस्रो खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी(२०आई शृङ्खला एक खेल अगावै जितेको छ ।

नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो ।
नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । वेस्ट इन्डिज कुनै पनि बेला खेलमा हाबी हुन सकेन ।
नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए ।
नेपाल ४३(३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारे ।
यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो । यस खेल जितपछि नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृङ्खला समेत जितेको छ ।











