काठमाडौं । राष्ट्रिय जनमोर्चाले जेनजी आन्दोलन र समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी वक्तव्यमा जेनजी समूहको संविधान खारेज गरी अन्तरिम संविधान जारी गर्ने मागलाई पार्टीले स्पष्ट रूपमा अस्वीकार गरेको छ ।

पार्टीले संसदद्वारा निर्वाचित प्रधानमन्त्रीय प्रणालीलाई उपयुक्त ठहराउँदै प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीले निरङ्कुशता र विदेशी प्रभाव बढाउने खतरा औँल्याएको छ । तथापि, संविधानका त्रुटिपूर्ण प्रावधान संशोधन र सङ्घीयता खारेज गर्नुपर्नेमा जोड दिएको छ ।
पार्टीले भ्रष्टाचार नियन्त्रण जेनजी आन्दोलनको मुख्य माग रहेको उल्लेख गर्दै २०१७ सालदेखिका सबै भ्रष्टाचार काण्डमा निष्पक्ष छानबिनको माग गरेको छ । साथै, आन्दोलनमा घरेलु र विदेशी प्रतिगामी शक्तिको घुसपैठप्रति सचेत रहन आग्रह गरेको छ ।
पार्टीले भाद्र २३ गतेको प्रदर्शनमा भएको दमनको छानबिन र २४ गतेको ध्वंसात्मक कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेको छ । गृह मन्त्रालयको कारबाही नगर्ने परिपत्रले दण्डहीनतालाई प्रोत्साहन गरेको पार्टीको आरोप छ । यी कदमले लोकतान्त्रिक मूल्य र सुशासनलाई बलियो बनाउनुपर्नेमा पार्टीले जोड दिएको छ ।











