काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न तरलता खिच्ने प्रक्रिया तीव्र पारेको छ । आज मङ्गलवार केन्द्रीय बैङ्कले निक्षेप संकलन उपकरणमार्फत ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

यो उपकरण १२ दिनका लागि जारी गरिएको हो । दसैँ बिदापछि कार्यालय खुलेको पहिलो दिन मङ्गलवार भए पनि राष्ट्र बैङ्कले बजारबाट पैसा खिच्न लागेको हो । सामान्यतया आइतबार र बुधवार तरलता व्यवस्थापन गर्ने राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुन आह्वान गरेको छ ।
बोलकबोलमा न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी रकम तोकिएको छ । यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
खरिद गरिएको निक्षेप संकलन उपकरणलाई अन्य बैङ्क तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ । राष्ट्र बैङ्कका अनुसार बोलकबोल ब्याजदरमा आधारित हुनेछ र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। यसले बैङ्किङ प्रणालीमा तरलता सन्तुलन कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।











