काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार बढेर बन्द भएको नेप्से, आज आइतबार भने उच्च अङ्कले घटेर बन्द भएको हो ।

आज नेप्से परिसूचक ७८.८३ अङ्क घटेर २५०३.३५ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ११.९१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ५.२३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डक्स ४.३२ अङ्क घटेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । गत बिहीबार ५ अर्ब २७ करोडको सेयर खरिदबिक्री भएको बजारमा ३२४ स्टकको ६७ हजार २०२ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँबराबरको १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक ६.०१ प्रतिशत बढेको छ । अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । बुटवल पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.२७ प्रतिशत घटेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने राधी विद्युत कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको ३७ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम ३६ करोड नाघेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.८४ प्रतिशत घटेको छ । त्यसैगरी, अन्य उपसमूहको परिसूचक ४.७९ प्रतिशत घटेको छ भने वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । कारोबारमा आएका बैंकिङ्ग, विकास बैङ्क, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेका छन् ।











