Logo
Logo

महाधिवेशनको मिति तय गर्न राप्रपाले केन्द्रीय समिति बैठक बोलायो


252
Shares

काठमाडौं । महाधिवेशनको मिति टुंगो लगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले कात्तिक २७ र २८ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

सो बैठकले आगामी केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरेको उनको भनाइ छ । बैठकले देश गम्भीर भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको र राजनीतिक अनिर्णयको अवस्थाले जनताको अधिकार कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ। राप्रपाले सबै राजनीतिक शक्ति, जेनजी समूह, परम्परागत राजनीतिक दल र राजसंस्थाबीच वृहद् राष्ट्रिय सहमति आवश्यक रहेको ठहर गर्दै त्यसका लागि तत्काल संवाद र पहलको आह्वान गरेको छ।

त्यसका साथै, अध्यक्ष राजेन्द्र लिङ्देनलाई विभिन्न राजनीतिक दल र पक्षहरूसँग संवाद गरी पार्टीका नीति, विचार र विकल्पबारे औपचारिक छलफल गर्न जिम्मेवारी दिइएको छ।

बैठकले विद्यमान संविधान र निर्वाचन प्रणालीबाट मुलुकको समस्या दीर्घकालीन रूपमा समाधान नहुने ठहर गर्दै पनि राप्रपा प्रजातान्त्रिक प्रक्रियाबाट अलग नहुने निर्णय गरेको छ। छठ पर्वपछि देशभर जनसंवाद कार्यक्रम सञ्चालन गरी आम जनतासँग प्रत्यक्ष संवाद गर्ने निर्णय पनि गरिएको छ।

बैठकले हालैको जेनजी आन्दोलनका क्रममा देखिएका केही गतिविधिहरू—जस्तै जबर्जस्ती चन्दा असुली, नि:शुल्क सेयर माग, र सार्वजनिक पदाधिकारीमाथि दबाब—प्रति चिन्ता व्यक्त गर्दै यस्ता गैरकानुनी कार्यहरूमा नलाग्न जेनजी पुस्तालाई आग्रह गरेको छ। साथै, सरकारले सुरक्षित लगानी र पारदर्शी प्रशासनिक वातावरण सुनिश्चित गर्न ध्यान दिनुपर्ने राप्रपाको भनाइ छ।

आर्थिक पक्षमा, बैठकले हालको आन्दोलनका कारण खर्बौंको क्षति भएको उल्लेख गर्दै शिथिल अर्थतन्त्र उकास्न र व्यवसायीलाई सुरक्षा थ्रेटबाट मुक्त पार्ने नीति ल्याउन सरकारसँग माग गरेको छ।

त्यस्तै, पार्टीको केन्द्रीय अनुशासन समितिको सिफारिसमा जुम्ला जिल्ला अध्यक्ष वेद बहादुर शाही, उपाध्यक्षद्वय बिमल शाही र काली बहादुर महत तथा कर्णाली प्रदेश सदस्य मनसुर सुनारलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्