काठमाडौं। इरान, नेपाल र भारत सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा घरेलु टोलीविरुद्ध खेल्ने नेपालीले सुरुवाती अग्रता लिएको छ ।

घरेलु टोली सम्हालिन नपाउँदै नेपालले गोल हानेको हो । नेपालको लागि कप्तान सावित्रा भण्डारी (साम्बा)ले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलएकी हुन् ।
भारतविरुद्धको खेलमा टोलीमा तीन परिवर्तन भएको छ । यसअघि पहिलो रोजाइमा परेकी एञ्जिला तुम्बापो सुब्बालाई गोलकिपर अञ्जना रानामगरले प्रतिस्थापन गरेकी छन् । हिराकुमारी भुजेलको स्थानमा मनमाया दमाईलाई मौका दिइएको छ । मिडफिल्डर दिपा शाहीले सुरुआती–११ मा स्थान बनाएकी छन् भने रक्षक निशा ठोक्कर सब्स्टीच्युट खेलाडीको रूपमा छिन् ।
खेलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने कोसिसमा हुनेछ । यता, भारत पनि यही प्रयासमा हुनेछ । यो खेल दुवै टोलीको अन्तिम खेल हो । यसअघि दुवै टोलीले च्याम्पियन इरानसँग प्रतिस्पर्धा गर्दा क्रमशः ३–० र २–० को हार बेहोरेको थियो । इरान भने यसअघि नै च्याम्पियन भइसकेको छ ।











