काठमाडौं । कप्तान रोहित पौडेलको शतकका बाबजुद नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा यूएईसँग पराजित भएको छ । अघिल्लो खेलमा अमेरिकासँग हार भोगेको नेपालविरुद्ध बिहीबार यूएईले ५ विकेटको जित दर्ता गरेको हो ।

२३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३.३ ओभरमा २३७ रन बनाएको हो । यूएईलाई जित दिलाउन ओपनर आर्यांश शर्माले ९८ र एलिशान शराफुले ४५ रनको योगदान गरे । शोयब खान शून्य रनमा समेटिँदा रिटायर्ड हर्ट राहुल चोपडाले १५, मुहम्मद वसीमले २६ रनको योगदान गरे भने हर्षित कौशिकले १३ रन बनाए नटआउट रहेका ध्रुव पराशरले १६ र जाहिद अलीले ६ रन बटुले । नेपाली बलरले १३ अतिरिक्त रन दिएका थिए ।
बलिङतर्फ सन्दीप लामिछानेले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । अन्य ४ बलरले जादु छोड्न नसक्दा नेपाल पराजित भयो । ललित राजवंशी, सोमपाल कामी, आरिफ शेख र कुशल भुर्तेल विकेटविहीन रहे ।
दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । ५० ओभर खेलेको नेपालले सबै विकेट गुमाएर २३३ रन मात्र बनाएको थियो ।
१२६ बलमा सय रन पूरा गरेका रोहित पौडेलले १०९ रन बनाए । कुल १२९ बलको सामना गरेका उनी जाहिद अलीको बलमा क्याचआउट भए ।
नेपालको सुरुवात त्यति उत्साहप्रद हुन सकेन । ओपनर कुशल भुर्तेल सात रनमै आउट हुँदा अर्का ओपनर आसिफ शेखले ३५ रन जोडे । त्यसैगरी भीम सार्की पनि १३ बल खेलेर ३ रन बनाउँदै क्रिज छाड्दा आरिफ शेख २७ रनमा आउट भए ।
त्यसैगरी २८ बल खेलेर दीपेन्द्र सिंह ऐरीले २३ रन जोड्दा गुल्सन झाले रन बनाउन सकेनन् । उनी पहिलो बलमै जुनैद सिद्दिकीको बलमा क्याचआउट हुनपुगे ।
त्यसपछि आएका सोमपाल कामीले १३ बलमा ६ रन जोडे भने करण केसीले ८ बलमा १३ रन बनाए । नेपालले ७ अतिरिक्त रन उपहार दिएको थियो ।
यूएईका लागि जुनैदले ३ विकेट झार्दा मुहम्मद रोहिद र हैदर अलीले समान १ विकेट लिए । यता जाहिद अलीले सर्वाधिक ४ विकेट आफ्नो नाममा गर्दा ध्रुव पराशरले विकेट लिन सकेनन् ।
लिग २ को अङ्क तालिकामा २२ खेलमा १६ जित निकालेको अमेरिका ३२ अङ्कसहित शीर्ष स्थानमा छ । यूएईले यो जितसँगै १८ खेलबाट ८ अङ्कसहित अन्तिममा रहँदा नेपाल १८ खेलमा ५ जितसँगै १२ अङ्कसहित अन्तिमबाट दोस्रोमा छ । दुबईमा नेपाल, अमेरिका र यूएईबीच लिग २ को खेल भइरहेको हो ।











