Logo
Logo

अमेरिकाका ब्याटर मिलिन्द कुमार काठमान्डु गोर्खाजमा


315
Shares

काठमाडौं । अमेरिकाका ब्याटर मिलिन्द कुमार आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि काठमान्डु गोर्खाजमा आवद्ध भएका छन् । काठमान्डु गोर्खाजले तेस्रो विदेशी खेलाडीको रूपमा ३४ वर्षीय मिलिन्दलाई अनुबन्ध गरेको हो ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई भित्राइसकेको छ ।

मिलिन्द उत्कृष्ट लयमा रहेका छन् । दुबईमा भइरहेको नेपाल सम्मिलित विश्वकप लिग–२ मा उनले नेपालविरुद्ध ५० बलमा ७० र यूएईविरुद्ध ८१ बलमा ७१ रन बनाएका थिए । “मिलिन्दले अमेरिकी टोलीका लागि ठूलो सफलताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्, उनले ब्याटिङमा एकरुपता र संयमता देखाएका छन्,” काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले भने, “फरक परिस्थिति र दबाबमा पनि खेल्न सक्ने उनको क्षमता उत्कृष्ट छ । उनलाई काठमान्डु गोर्खाज परिवारको हिस्साको रूपमा पाउँदा हामी निकै उत्साहित छौँ ।”

दिल्लीबाट उनले २०११ मा रणजी ट्रफीमा ‘डेब्यु’ गरेका थिए । त्यसपछि उनले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेले । मिलिन्द दुईपटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए । २०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेङलोरले बेस प्राइस २० लाखमा उनलाई लिएको थियो । तर, उनले आईपीएलमा खेल्न भने पाएका थिएनन् ।

२०२१ मा उनी माइनल लिग क्रिकेट हुँदै अमेरिकी क्रिकेटमा स्थापित भएका थिए । उनले पछिल्लो तीन सिजन अमेरिकाको मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट खेल्दै आएका छन् । नेदरल्यान्ड्सको द हेगमा क्यानडाविरुद्ध खेल्दै उनले अमेरिकाबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।

२०२५ को सेप्टेम्बरमा मिलिन्दले नामिबियाको विन्डहकमा नामिबियाविरुद्ध अविजित ७४ र यूएईविरुद्ध अविजित १५५ रन बनाएका थिए । यसै वर्षको मेमा उनले क्यानडाविरुद्ध अविजित ११५ र ओमानविरुद्ध ६८ रनको इनिङ्स खेलेका थिए, जसको कारण उनी आईसीसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए ।

हाल चलिरहेको विश्वपक लिग–२ मा उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । उनले २० खेलमा ५८ माथिको औसत र १०० माथिको स्ट्राइक रेटमा ८२३ रन बनाइसकेका छन्, जसमा दुई शतक र ६ अर्धशतक समावेश छ । साथै, उनको नाममा २७ विकेट पनि रहेको छ । मिलिन्दले सबै खाले ट्वान्टी–२० मा ९० खेल खेल्दै १६ सयभन्दा बढी रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्