काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा माओवादी केन्द्रसँग चाँडै पार्टी एकता हुने बताएका छन् । शुक्रवार केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकले एकताको पक्षमा निर्णय लिने बताए ।

माओवादीले माओवाद छोड्ने र मार्गदर्शक सिद्धान्तका रुपमा मार्क्सवाद लेनिनवादलाई आफूहरूले पनि मान्ने सर्तका पार्टी एकता भइरहेको उनले बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको एकता भाँड्न षड्यन्त्र गरिरहेको आरोप उनले लगाए । ‘पुरानै घर फर्किनुस्’ भन्ने ओलीको आह्वान पार्टी एकता भाँड्नका लागि भएको उनले जिकिर गरे ।
‘केपी ओलीको यो साजिस मात्र हो, हाम्रो एकतालाई भाँड्नका लागि’ उनले भने, ‘उहाँ एकताको लागि कहिल्यै हुनुहुन्न ।’ केन्द्रीय समिति बैठकले एकताको पक्षमा निर्णय गर्ने जानकारी दिँदै भने, ‘एकताको प्रक्रियामा तत्काल अघि बढ्छौँ । धेरै कुराहरू हामीले छलफल गरेर डकुमेन्ट आदानप्रदान गरेर मिलाइसकेका छौँ । हामी आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेका हौं ।’










