Logo
Logo

भारतद्वारा पुनर्निर्माणका लागि एक अर्ब ५४ करोड रुपैयाँ प्रदान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असोज । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको क्रममा आवास तथा विद्यालय पुनर्निर्माणका लागि प्रतिवद्धता गरेअनुरुप एक अर्ब ५४ करोड रुपैयाँ बराबरको चेक नेपाललाई हस्तान्तरण गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानालाई मंगलबार चेक हस्तान्तरण गरेकी हुन् ।
चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारतले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।
यसमध्ये विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता भारतले नेपाललाई दिइसकेको छ । भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ ।
भारतले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ । भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको भारतले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्