काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सरकार जेनजी आन्दोलन र राजनीतिक दलबीच मध्यस्थकर्ताको भूमिकामा रहेको बताएकी छन् ।

बालुवाटारमा सम्पादकहरूसँगको छलफलमा उनले दुवै पक्षलाई भड्किन नदिन निरन्तर प्रयास भइरहेको उल्लेख गरिन् । सुरुका हप्ताहरू जेनजी समूहलाई बुझ्न र उनीहरूसँग परिचित हुनमै बितेको उनको भनाइ छ ।
उनले जेनजीका कति समूह छन् भन्ने स्पष्ट नभएको स्वीकार गर्दै अहिलेसम्म २० देखि २५ समूहसँग संवाद भएको जानकारी दिइन् । एउटा समूहले अर्कोलाई स्वीकार नगर्ने अवस्था र समयसँगै मागहरू थपिँदै गएको उनले बताइन् ।
सुरुमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाल खुला गर्न माग गर्दै उठेको जेनजी आन्दोलन अहिले फरकफरक राजनीतिक एजेण्डातर्फ मोडिएको छ । विभिन्न समूहले अन्तरिम संविधान, प्रत्यक्ष निर्वाचित कार्यकारी, अन्तरिम सरकार र संविधान खारेजीजस्ता माग अघि सारेका छन् । प्रधानमन्त्रीले भनिन्, ‘जेनजी कति छन्, थाहा छैन । २०–२५ समूह आइसके । नौला माग थपेर हैरान पारेका छन् । एउटालाई मन्त्री बनाउन खोज्यो, अर्कोले काट्छ ।’ उनले थप मन्त्री जेनजीबाटै लिने तयारी रहे पनि उनीहरूबीच सहमति नभएको प्रष्ट पारिन् ।










