काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले नेपालका वामपन्थी शक्तिहरूबीच हुने एकताको प्रयासलाई ‘वाहियात’ भनेर टिप्पणी गरेका छन् । फुटेपछि मात्र एकताको आवश्यकता सम्झने गलत प्रवृत्तिबाट नेपाली वामपन्थीहरू ग्रसित भएको उनको भनाइ छ ।

बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै वामपन्थी दलहरूसँग मिसिने तर नमिल्ने ‘हिन्द र प्रशान्त महासागर’ जस्तो प्रवृत्ति रहेको उल्लेख गरेका छन् । यसको कारण गहिराइको चाप र नेतृत्वको राप रहेको उनले बताए । फुटभन्दा जुट नै राम्रो भए पनि एकताको नाममा ‘ढोक्सामा परेको माछो’ जस्तो हुन नहुने उनको सुझाव छ, किनकि त्यसलाई अर्कोले तारेर खान वा सुरुवा बनाएर पिउन सक्छ ।
उनले लेखेका छन्, ‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर नेपालका वामपन्थी त्यही प्रवृत्तिबाट अभिशप्त छन्। मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागरजस्ता । कारण-गहिराइको चाप र नेतृत्वको राप। फुटभन्दा जुट राम्रो, तर ढोक्सामा परेको माछो नहुनुस अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।’










