Logo
Logo

बालेनलाई अविलम्ब गिरफ्तार गर्न विष्णु रिजालको माग


3.5k
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’लाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार मध्यराति एमालेसहित नेपालका राजनीतिक दलहरूलाई अश्लील शब्दमा स्टाटस लेखेर चौतर्फी आलोचना खेपिरहेका बालेनलाई तत्काल पक्राउ गर्न नेता रिजालले सामाजिक सञ्जालमार्फत गृहमन्त्री ओमप्रकाश अर्यालसँग माग गरेका हुन् ।
साथै उनले बालेन सिंहदरबार जलाउने मतियार रहेको समेत आरोप लगाएका छन् ।

‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ’, उनले भनेका छन्, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ ।’

मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए ।

तर व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए । तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा उनको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्