काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन् । आइतबार निर्वाचन आयोगबाट पार्टीको मान्यता प्रमाणपत्र बुझ्दै उनले उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘रोजगारी सिर्जनाको लागि उत्पादन र निर्माणमा जोड दिनुपर्छ । हामी फिल्डमा खटेर सामाजिक तथा आर्थिक रूपान्तरण गर्छौँ । अफिसमा बसेर भाषणले मात्रै हुँदैन ।’ उत्पादन नबढ्दा नेपालीहरू बेरोजगार बन्न बाध्य भएको उनको भनाइ छ ।
विदेशी ऋणमा निर्भर नभई देश आफैँले बनाउने मौलिक शैली अपनाउनुपर्ने उनले बताए । गरिबी, अभाव, ठगी, भ्रष्टाचार र बेइमानी अन्त्य गर्ने उनको दाबी छ । ‘यो देश अब हामी आफैँले बनाउनुपर्छ । मौलिक शैलीलाई पुनर्जागरण गर्छौँ,’ उनले भने । पार्टीले दलको झण्डा नराख्ने तर चुनाव चिन्हमा माटोको ढिस्को राखिएको छ ।
लोकतन्त्रमा विश्वास राख्ने भएकाले श्रम संस्कृति पार्टी आवधिक निर्वाचनमा सहभागी हुने उनले जनाए । परम्परागत दलजस्तो नहुने दाबी गर्दै हरेक टोलमा श्रमदाता बनाएर काम गर्ने योजना रहेको उनले सुनाए । निर्वाचन आयोगले आइतबार श्रम संस्कृति पार्टीलाई मान्यता दिएको हो । साम्पाङ स्वयं आयोग पुगेर प्रमाणपत्र बुझेका छन् ।










