काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास’ सार्वजनिक गरेको छ ।

बुद्ध दर्शन र खेललाई एउटै बिम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ।
यो एन्थम मुख्यत दर्शकको भावबाट लेखिएको कुरा सर्जक नवराज पराजुली बताउँछन्। मैदानमा हुने ११ जना खेलाडीजस्तै मैदानबाहिरका दर्शक पनि खेलमा होमिएका हुन्छन्। ती दर्शकलाई बाह्रौँ खेलाडीको रूपमा एन्थममा समेटिएको छ ।
हामी लुम्बिनीको बाह्रौँ खेलाडी बन्छौँ
आँफै आफ्नो काँधमा धाप मारेर भन्छौँ
स्याबास् !
सर्जक भन्छन्, “जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसबेला दर्शकहरूले आफ्नो टिमलाई जे भन्न मन लाग्छ, एन्थममा ती पन्थीहरू समेटिएका छन्।”
बुद्ध दर्शनमा भएको ध्यान र स्वासको महानतालाई खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छ–
खेल जित्दा आयो सास, खेल खेल्दा गयो सास
आयो सास गयो सास, सासलाई हेरिरह्यो सास
आउने जाने सासलाई बनाएर साहस
एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन्। लिरिकल भिडियोको निर्माण विवेक निशानीले गरेका हुन् । एनपिएलको ट्रफी टूरको क्रममा लुम्बिनीमा भएको विशेष कार्यक्रममा सो एन्थम सार्वजनिक गरिएको थियो।











