काठमाडौं । भारतले आज तेस्रो टि ट्वान्टी आईमा अष्ट्रेलियालाई ५ विकेटले हराउँदै ५ खेलको सिरिज १–१ बराबरीमा गरेको छ । होबार्टको बेलरिभ ओभल मैदानमा भारतले अष्ट्रेलियालाई पहिलो पटक टि ट्वान्टी आईमा पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि टिम डेभिड र मार्कस स्टोइनिसले आक्रामक ब्याटिङ गरेका थिए ।
भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा ३५ रन दिए र ३ विकेट लिए । उनले सुरुमा ट्राभिस हेड र जोश इङ्लिसलाई आउट गर्दै अष्ट्रेलियालाई १४/२ को अवस्थासम्म सिमित गरे ।
उनले मार्कस स्टोइनिसको क्याच लिए । अर्शदीप ‘प्लेयर अफ द म्याच’ बने। बरुण चक्रवर्तीले २ विकेट लिए । भारतले जवाफी इनिङ्स आक्रामक रुपमा सुरु गर्यो । अभिषेक शर्माले १६ बलमा २५ रन बनाए । कप्तान सूर्यकुमार यादवले ११ बलमा २४ रन जोडे । तिलक वर्माले २९ ,अक्षर पटेल १७ र शुभमन गिलले १५ रन बनाए ।
अन्त्यमा वासिङटन सुन्दरले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई जित तर्फ अघि बढाए । उनले केवल २३ बलमा नटआउट ४९ रन बनाए । सुन्दरलाई जितेश शर्माले २२ रन जोड्दै राम्रो साथ दिए। भारतले ९ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। सिरिजमा अब २ खेल बाँकी छ ।











