काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन बढेको नेप्से, आज सोमबार भने घटेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक ८.२४ अङ्क घटेर २६२२.८९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अङ्क घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार ९ अर्ब २० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३३३ स्टकको ५४ हजार ८९२ पटकको कारोबारमा ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँबराबरको १ करोड २१ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, ९ प्रतिशत नेपाल एसबिआई बैङ्क ऋणपत्र २०८९ को मूल्य ७.०८ प्रतिशत बढेको छ भने एभरेष्ट बैङ्क लिमिटेड इनर्जी बण्ड २०८९ को मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम साढे २४ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने १३ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ०.९३ प्रतिशत बढेको छ । कारोबारमा आएको जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक १.०५ प्रतिशत घटेको छ ।











