
काठमाडौं । विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ ।
प्राधिकरणको निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भइरहेको हो ।
शाक्यले आफूलाई प्राधिकरणकै कार्यकारी निर्देशकमा फर्काउन माग गर्दै सोमबार रिट दायर गरेका थिए ।
शाक्य दोस्रोपटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा ०८१ चैत ११ गते नियुक्त भएका थिए । तर, पछिल्लो समय जेनजी आन्दोलनले अन्तरिम सरकारको उर्जामन्त्रीमा कुलमान घिसिङ नियुक्त भएपछि हितेन्द्रलाई सरकारले उर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको थियो ।
सरकारले असोज ५ गते शाक्यलाई हटाएर प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरिसकेको छ ।
तर, अघिल्लो सरकारले आफूलाई चार वर्षका लागि नियुक्त गरेको र कार्यकाल बाँकी रहँदै सुनुवाइको मौकासमेत नदिइ हटाएको भन्दै शाक्यले सरकारको निर्णय बदर गरी प्राधिकरणमै निरन्तरता दिन माग गरेका छन् ।











