काठमाडौं । नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रियामा विवाद उत्पन्न भएको छ । ‘नेपाल स्काउट शुद्धीकरण अभियान समिति’ले शनिवार मुख्य कार्यालयअगाडि धर्ना दिँदै नियुक्ति तत्काल रोक्न माग गरेको हो ।

धर्ना चलिरहँदा कार्यालयभित्र सर्टलिस्ट उम्मेदवारहरूको अन्तर्वार्ता जारी थियो । प्रदर्शनकारी र प्रहरीबीच धक्काधक्कीसमेत भएको छ । समितिका संयोजक देवदूत अधिकारीले भने, ‘बहालवाला निर्देशक कायम छँदै नयाँ पदका लागि विज्ञापन गर्नु गलत हो। प्रमुख आयुक्तको मुद्दा सर्वोच्चमा विचाराधीन छ, यस्तो बेला निर्देशक नियुक्त गर्न मिल्दैन ।’ उनले निवर्तमान मन्त्री तेजुलाल चौधरीले निर्वाचित प्रमुख आयुक्तलाई निलम्बन गरी आफ्नै विद्यालयका शिक्षक देवराज घिमिरेलाई नियुक्त गरेको आरोप लगाए ।
स्काउटभित्रको भ्रष्टाचार र विकृति अन्त्य गर्न छानबिन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ । यता, निलम्बित प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले राष्ट्रिय परिषद्को बैठकले आफूलाई नियुक्त गरे पनि मन्त्री चौधरीले कानुनी प्रक्रिया मिचेर हटाएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको बताए ।










