काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमा रहेकाहरूले नै ‘जेनजी आन्दोलन’ को नाममा देशलाई अस्थिर बनाउने र जलाउने काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै-एउटा तमासा देखिएको छ । जसले जलायो, त्यसैले चलायो । सडकमा एक-एक फिट उफ्रिएर आन्दोलन गर्नेहरू मैदानमा देखिएका थिए, अहिले कुर्सीमा विराजमान पनि तिनै तत्त्व छन् । संविधान मान्दिनँ, हुँदै हुँदैन भन्नेहरू नै अहिले सत्तामा छन् ।’
उनले एमालेले संविधान र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने मागसहित आन्दोलनमा जाने निर्णय दोहोर्याए । यसैगरी, ओलीले नेपालमा अधिनायकवादको संकेत देखिन थालेको चेतावनी दिएका छन् । उनले बङ्गलादेश र म्यानमारमा चुनावको मिति पटक९पटक सारेर अधिनायकवादी शासन लम्ब्याइएजस्तै नेपालमा पनि त्यही शृङ्खला दोहोर्याउने प्रयास भइरहेको दाबी गरे । उनले भने, ‘जहाँ अधिनायकवाद सुरु हुन्छ, त्यहाँ चुनाव गराउँछु भनेर घोषणा गरिन्छ, तर मिति पटक९पटक सारिन्छ । म्यानमारमा ६ वर्ष भयो, बङ्गलादेशमा डेढ वर्ष भयो-चुनाव अझै भएको छैन । अहिले नेपालमा पनि त्यही अनुभव दोहोर्याउन खोजिँदै छ ।’
देशलाई पुनः द्वन्द्व, तनाव, पारस्परिक द्वेष र घृणातर्फ धकेल्ने प्रयास भइरहेको भन्दै उनले सबै सचेत हुनुपर्नेमा जोड दिए । ‘यो राष्ट्रका लागि अनिष्टकारी परिस्थिति हो । यसलाई दीर्घकालीन रूपमा रहन दिनुहुँदैन,’ ओलीले भने । उनले ‘जेनजी’ को नाममा देशलाई द्वन्द्वमा फसाउने र राजनीतिक स्थायित्व तथा लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने खतरा रहेको बताए ।










