काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । गृहमन्त्रालयमा उनीहरुबीच करिब ४५ मिनेट विविध विषयहरूमा छलफल भएको हो ।

मन्त्री अर्याल र राजदूत श्रीवास्तवबीच चुनावी सुरक्षा र आपसी हितका बारेमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्रालयमा भएको दुई पक्षीय भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
भारत सरकारले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धका बारेमा सधैँ सकारात्मक र सुमधुर ढङ्गले अघि बढ्ने बताउँदै, निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि सधैँ सकारात्मक रहेको विचार राजदूत श्रीवास्तवले व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै सरकारले शान्ति सुरक्षा, सुशासन र भ्रस्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका थिए । घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढङ्गमा सम्पन्न गर्न अहोरात्र लागि परेको जानकारी मन्त्री अर्यालले भेटका क्रममा बताए ।
भेटमा दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण रहने विचारसमेत मन्त्री अर्यालले व्यक्त गरेका थिए ।










