Logo
Logo

अमेरिकामा सरकारी कामकाज बन्द हुँदा हवाइसेवा प्रभावित, तीन दिनमा २१ सय उडान रद्द


504
Shares

काठमाडौं । अमेरिकामा सरकारी कामकाज बन्द (सटडाउन)का कारण तीन दिनमा २१ सय उडान रद्द भएका छन् भने सात हजार उडान भन्दा बढी ढिलाइ भएको छ ।

अमेरिकाको संसद्ले बजेट पास गर्न नसक्दा सरकारी खर्च रोकिएर सरकारी कामकाज बन्द (सटडाउन)को असर अत्यावश्यक सेवाहरूमा पर्न थालेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले उल्लेख गरेको छ ।

कर्मचारीहरूको अभावका कारण लगातार दोस्रो दिन पनि विमान सेवाहरू प्रभावित भएका छन् । समाचारमा जनाइएअनुसार विमान कम्पनीहरूले २१ सयभन्दा बढी उडानहरू रद्द गर्नुपरेको छ । सात हजारभन्दा बढी फ्लाइटहरूमा ढिलाइ भयो ।
देशका ४० भन्दा बढी व्यस्त विमानस्थलहरूमा यो अव्यवस्था तेस्रो दिन पनि जारी रह्यो । यस्तो अवस्थामा विश्लेषकहरूले यसरी नै उडानहरू रद्द भइरहे यसको असर ठूलो हुने चेतावनी दिएका छन् ।

यता, सटडाउनका कारण अमेरिका बाहिर रहेका सैन्य अड्डाहरूमा काम गर्ने मानिसहरूको भुक्तानीमा संकट मडारिन थालेको छ । अमेरिकाका केही राज्यहरूमा पूरक पोषण सहायता कार्यक्रमअन्तर्गत खाद्य सहायताको भुक्तानी गरिने भएपनि बाँकीले पर्खनुपर्ने भएको छ ।

सीएनएनले फ्लाइटहरूको ट्रयाक गर्ने वेबसाइट ‘फ्लाइटअवेर’लाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा शनिबार १५०० उडानहरू रद्द भएको बताएको छ । ६ हजार ६०० भन्दा बढी उडान ढिलो भएको उल्लेख गरेको छ ।

आइतबारमात्रै एक हजारभन्दा बढी उडानहरू रद्द भएका छन् । सयौँ उडान विलम्ब भएका थिए । अमेरिकी संघीय उड्ड्यन प्रशासनले व्यापक अवरोधहरूको लागि कर्मचारीहरूको कमीलाई जिम्मेवार ठहराएको छ ।

बजेट गतिरोधका कारण हवाई यातायात नियन्त्रकहरू र संघीय सुरक्षा निरीक्षकहरूले तलब पाउन सकेका छैनन् । देशका सबैभन्दा व्यस्त विमानस्थलहरूमा यसको सबैभन्दा बढी असर परेको बताइएको छ ।

सीएनएनका अनुसार न्युयोर्क सहरका तीन प्रमुख विमानस्थलहरू नेवार्क लिबर्टी इन्टरनेशनल, लागार्डिया र जोन एफ केनेडी इन्टरनेशनलमा शनिबार उडानहरू घण्टौंसम्म विलम्ब भए ।

संघीय उड्ड्यान प्रशासनले नेवार्क आउने उडानहरूका लागि अस्थायी रूपमा ग्राउन्ड स्टप जारी गरेको थियो । उत्तरी क्यारोलाइनाको विमानस्थलमा सबैभन्दा बढी असर परेको थियो जहाँ दिउँसोसम्म १३० उडानहरू रद्द गरिएको थियो । एट्लान्टा, शिकागो, डेन्भर र न्यु जर्सीको नेवार्क विमानस्थलहरूमा पनि अवरोध देखिएको थियो ।

संघीय उड्ड्यन प्रशासनले सटडाउनको बीच देशभरि उडानहरू कम गर्ने आदेश दिएको छ । सटडाउन जारी रहेमा आउँदो दिनहरूमा तिनीहरूको संख्या बढ्ने निश्चित रहेको बताइएको छ । सटडाउनको समयमा १३ हजार एयर ट्राफिक नियन्त्रक र ५० हजार सुरक्षा स्क्यानिङको काम गर्ने मानिसहरूले तलब बिना नै सेवा दिइरहेका छन् ।

सटडाउनका कारण समुद्र पार युरोपका अन्य देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा काम गर्ने स्थानीय कर्मचारीहरूलाई पनि यसको असर महसुस हुन थालेको बताइएको छ ।

युरोपमा विदेशी अड्डाहरूमा काम गर्ने हजारौँ मानिसहरूलाई लगभग ६ हप्ताअघि सटडाउन सुरु भएदेखि तलब दिएको छैन । अमेरिकी सैन्य अड्डा रहेका देशहरूले बिलहरू तिरेका छन् । इटाली र पोर्चुगलसहित अन्य स्थानहरूमा मानिसहरू तलबबिना काम गरिरहेको बताइएको छ ।

यसैबीच, संघीय सटडाउन अन्त्य गर्ने र बजेट पास गर्ने विषयमा सिनेटमा बहुमतका नेता जोन थुनेले शनिबार सिनेटमा द्विपक्षीय वार्ताहरू सकारात्मक मोडमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्