
काठमाडौं । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् ।
एक सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्काले कुर्सी फालेका हुन् । झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् । तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ ।
त्यस्तै मधेशको प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ । प्रदेश प्रमुख सुमेत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । उनीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरूमा क्षति पु¥याएका छन् ।
सोमबार बिहान स्वास्थ्य उपचारका लागि भन्दै जनकपुरबाट काठमाडौंतर्फ लागेकी प्रदेश प्रमुख भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै बीच बाटोमै बर्दियास्थित एक होटलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । त्यसपछि संविधानको धारा १६८ को उपधारा (२) को विकल्प हुँदाहूँदै प्रदेश प्रमुखले उपधारा (३) बाट मुख्यमन्त्री नियुक्ति गरेपछि चौतर्फी विरोध भइरहेको छ ।










