
काठमाडौं । बहुविवाह मुद्दामा पक्राउ परेका नेकपा (एमाले)का नेता पासाङ शेर्पा कैद बापतको रकम तिरेर छुटेका छन् ।
आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्द प्रसाद श्रेष्ठको इजलासले कैद बराबरको रकम बुझाउन मिल्ने गरी आदेश दिएसँगै शेर्पा रकम बुझाएर छुटेका हुन् ।
बहुविवाह मुद्दामा फरार रहेका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कात्तिक १८ गते पक्राउ गरेको थियो ।
उनीविरुद्ध बहुविवाह कसुरमा एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो ।
काठमाडौं जिल्ला अदालतले तोकेको उक्त कसुर उच्च अदालत पाटनले सदर गरेको थियो । मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५५ ले गम्भीर प्रकृतिको बाहेक एक वर्षमुनिको कैद सजाय बराबर रकम बुझाएर छुट्न मिल्ने व्यवस्था गरेको छ ।
शेर्पाले त्यही व्यवस्थाअनुसार कैदबाट छुट पाऊँ भनेर निवेदन दिएका थिए । जसअनुसार अदालतले दिनको तीन सय रुपैयाँका दरले रकम बुझाउन आदेश दिएपछि उनले दिनको तीन सय रुपैयाँ दर अनुसार एक लाख ९ हजार ५ सय रुपैयाँ बुझाएर छुटेका हुन् ।










