काठमाडौँ । नेकपा (एमाले)ले पार्टीबाट निष्कासन गरेपछि मातृभूमि जागरण अभियान चलाइरहेका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

यही कात्तिक २६ गते दिउँसो साढे १ बजे राष्ट्रिय सभागृहमा पार्टी समायोजन कार्यक्रम राखिएको नेपाली कम्युनिस्ट पार्टीले जनाएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपालसहितको उपस्थितिमा रावललाई भित्र्याउने कार्यक्रम तय भएको नेताहरूले जनाएका छन् । रावललाई पार्टीमा भित्र्याउन आइतबारमात्रै नेताहरूले भेटघाट गरेका थिए ।
पार्टीमा छैटौँ वरीयता पाउने गरी सहमति भएको एक नेताले जानकारी दिए । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछिको वरियतामा रावल रहनेछन् ।











