काठमाडौं । सशस्त्र प्रहरीका केही उच्च अधिकृतहरूले राजनीतिक दलका नेताहरूसँग हिमचिम बढाएको भन्दै धेरैपटक आलोचना भएको छ । सरकार परिवर्तन भएपछि यसपटक पनि यस्तो आलोचनाबाट सशस्त्र प्रहरीका केही अधिकारीहरू मुक्त हुन सकेनन् । सरकार बनाउन र सरकारका विभिन्न मन्त्रीहरूसँग नजिक रहेको बाहना बनाउने केही युवाहरूसँग सशस्त्र प्रहरीका अधिकारीहरूले बाहिर भेटघाट गर्ने गरेको र अनावश्यक सल्लाह दिने गरेको विषयमा मुख्यालयमा चर्चासमेत चलेको थियो ।

सशस्त्र प्रहरीको एउटा कार्यक्रममा गृहसचित रामेश्वर दंगालले फुली टल्काउँदै नेताहरू भेटघाट बन्द गर्नुप¥यो भन्ने अवस्थासमेत आएको थियो । यो विषयमा सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले सामग्री तयार पारेर आइजिपी राजु अर्याललाई समेत बुझाएको थियो ।
त्यसको आधारमा सशस्त्र प्रहरीमा राजनीतिक भेटघाट बन्द गर्न कडा परिपत्र जारी गरिएको छ । मातहतका निकायलाई निर्देशन दिँदै सशस्त्रका महानिरीक्षक राजु अर्यालले अनावश्यक राजनीतिक भेटघाट नगर्न निर्देशन जारी गरेका छन् । ‘बाहिरी भेटघाटमा खासगरी एक एआइजी चलखेल बढेको कारण यस्तो विज्ञप्ति जारी गर्नुपरेको हो’, सशस्त्र मुख्यालय स्रोतले भन्यो ।
सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटलाई कडाई गर्दै भेटघाट गर्नु परेमा अनिवार्य स्वीकृति लिन पर्ने भएको छ । सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूमा परिपत्र जारी गर्दै सशस्त्र प्रहरी कर्मचारीहरूले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्च पदस्थ व्यक्तित्वहरू, राजनीतिक दलका नेतृत्व तथा पदाधिकारीलगायत अन्य विशिष्ट व्यक्तिसँग विभिन्न मन्त्रालय तथा अन्य स्थानहरूमा भेटघाट गर्न कडाइ गरिएको जनाउदै यस्तो देखिएमा नसियत दिने भनिएको छ ।
सशस्त्र प्रहरी कर्मचारीहरूले कुटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश स्वीकृत गरी लागु गरिएको हुँदा सोको पालना गर्न भनिएको छ ।
जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूले विभिन्न उच्च पदस्त व्यक्तित्वहरू, सामाजिक अभियन्ता लगायतका विभिन्न संचारमाध्यमहरूलाई संगठनका निर्दिष्ट लक्ष्य तथा योजनाहरूमा प्रतिकूल हुने गरी आफ्नो व्यक्तिगत लाभ र अवसरहरू तथा संगठनका गोप्य सूचनाहरू अनाधिकृत रुपमा प्रकाशन गरेको पाइएमा कडा कारवाही गरिने परिपत्रमा उल्लेख गरिएको छ ।
‘राज्यप्रदत्त जिम्मेवारीहरू मध्ये विशेषगरी आतंककारी गतिविधि नियन्त्रण सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षा जस्तो महत्वपूर्ण जिम्मेवारीलाई ध्यानमा राखी कार्य गर्नुपर्ने भएको हुँदा अनाधिकृत रुपमा गरिने भेटघाटले सांगठनिक मर्यादामा खलल मात्र नभई राष्ट्रिय सुरक्षा एवं अखण्डतामा समेत असर पर्ने भएकोले यस्ता गतिविधिहरुलाई पूर्णरुपमा निरुत्साहित गरी अघि बढ्ने संगठनको लक्ष्य रहेको छ’ परिपत्रमा उल्लेख छ ।
सांगठनिक हित र आवश्यकताको कारण सूचना आदानप्रदान गर्नु परेमा स्थायी आदेशमा उल्लेखित अनुसूची अनुरूप फाराम भरी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयबाट पूर्व स्वीकृत लिई भेटघाट गर्न सकिने उल्लेख गर्दै मिडियाँकर्मीसँग छलफल, भेटघाट एवं अन्य तरिकाबाट मर्यादापूर्वक सूचना प्रकाशन गर्न प्रवक्ताको कार्यालयबाट गर्न सकिने व्यहोरासमेत उल्लेख गरिएको छ ।
‘राष्ट्र सेवाको लागि माइनस २० डिग्री सेल्सियस न्यूनतम तापक्रमदेखि ४० डिग्री सेल्सियस उच्चतम तापक्रमसम्म निःस्वार्थ भएर २४सै घण्टा दत्तचित्त भई सेवा गर्ने राष्ट्रसेवक कर्मचारीहरुको समेत मनोवल उच्च हुने गरी संगठनले कार्य गरिरहेको हुँदा कसैको दवाव र भनसुनले राम्रो अवसर दिन सक्दैन’ सो परिपत्रमा भनिएको छ ।
फौजी संगठनमा अनुशाशित, मर्यादित र आदेशको पालना हुनैपर्छ, संगठनमा कार्यरत जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको मान, प्रतिष्ठा, इज्जत त्यति नै हुने हुँदा कुनै एक कर्मचारीले गरेको गल्तीले व्यक्तिको मात्र नभई संगठनको समेत बदनाम हुने बताइएको छ ।
आर्थिक तथा भौतिक रुपमा चाहिने जति सेवा सुविधा तुलनात्मक रुपमा नभएता पनि राज्य दिएको सम्मान र प्रतिष्ठालाई शिरमा राखी आ–आफ्नो पदको मर्यादा र अनुशासनको पालना गरी संगठनले लिएको शुन्य सहनशीलताको नीतिलाई अक्षरस पालन गर्दै सीमा सुरक्षा, शान्ति सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपदमा परेकाहरुको उद्धार तथा सहयोग लगायतका कार्यहरूमा उच्च मनोवल र पेशागत बफादारिताकासाथ पनि परिपत्र गरिएको छ ।











