Logo
Logo

डिआइजीलाई स्पष्टीकरण


13.2k
Shares

काठमाडौं । जेनजी आन्दोलनको बेला उपत्यका प्रहरी कार्यालयको कमाण्ड गरिरहेका डिआइजी ओमबहादुर राना अहिले सुदुरपश्चिम प्रदेशको प्रहरी कमाण्ड गरिरहेका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थान्तरण भएका राना आफ्नो व्याचमा निकै कमजोर तर सोर्सफोर्समा बढुवा हुने र आकर्षक स्थानमा सरुवा हुने प्रहरीमध्ये एक हुन् ।

जेन–जी आन्दोलनको प्रभावले उनी यतिबेला सुदुरपश्चिम प्रहरी कार्यालयमा पुगेका छन् । यद्यपि, त्यहाँ पनि पुग्ने वित्तिकै विवादास्पद व्यक्तिसँग भेटघाट गर्ने, कार्यालयमै मदिरा सेवन गराउने र प्रहरी प्रधानकार्यालयलाई जानकारी नदिइ सीमापार गरेका छन् ।

एकपछि अर्को गर्दै विवादको घेरामा बस्न रुचाउने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख राना यही कारणले पुनः विवादमा आएका छन् । सुदुरपश्चिम पुगेको केही दिनमै उनी सरकारको अनुमति नलिइ भारत गएका थिए । उनी भारत पुगेको विषयमा प्रहरी प्रधानकार्यालयले चासो राखेको थियो । गत असोजको अन्तिम सातामात्रै सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका उनी विवादास्पद व्यापारीको साथमा भारत पुगेका थिए ।

इजरायलबाट विपिन जोशीको शव हस्तान्तरणकै दिन उनी भारत पुगेको स्रोतको दाबी छ । ‘डिआइजी राना विनाअनुमति भारत जानु भएको रहेछ, एउटा देशको सुरक्षा निकायको कमाण्ड गरिरहेको व्यक्ति अर्को देशमा जाँदा सामान्यतया प्रहरी प्रधान कार्यालयको अनुमति लिनुुपर्ने हुन्छ, उहाँले अनुमति लिएको देखिएन’, प्रहरी प्रधान कार्यालय स्रोतले दृष्टिसँग भन्यो ।

एकातर्फ जेन–जी आन्दोलनबाट बनेको सरकारलाई विभिन्न प्रश्न उठ्नु र अर्कोतर्फ सुरक्षा निकायकै उच्च अधिकारी विनाअनुमति विदेशी भूमिमा देखिनुलाई सरकारी अधिकारीहरूले उचित मानेका छैनन् । भारत पुग्दा पनि विवादास्पद व्यक्तिसँग गएको स्रोतको दाबी छ । यसले गर्दा उनको उठबस र गतिविधिबारे संशय पैदा भएको छ ।

कानुन कार्यान्वयन, शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्ने संस्थाको प्रदेश कमाण्ड नै प्रहरीले नै विचौलिया भन्दै पक्राउ गरेका व्यक्तिसँग देखिएको र भारत गएको विषयमा रानालाई प्रहरी प्रधानकार्यालयले स्पष्टीकरण सोधेकोसमेत बुझिएको छ ।

डिआइजी राना आफूलाई कलाकार तथा व्यवसायी बताउने अत्तरियाका ज्ञानेन्द्र खड्कासँग देखिएका थिए । उनले टिकटकमा समेत सगौरव घुमघाम भन्दै बनबासा पुलको भिडिओ सार्वजनिक गरेका थिए । जसमा डिआइजी राना प्रफुल्ल मुद्रामा देखिएका थिए । उनले गत भदौ २३ गतेको शान्तिपूर्ण जेन–जी आन्दोलन दबाउन भूमिका खेलेका थिए ।

राना सधैं विवादमा आउने प्रहरी अधिकारी हुन् । उनी जहाँ गए पनि आर्थिक कारोबारमा मुछिने गरेका छन् । राना रसुवामा डिएसपी हुँदा रक्तचन्दन तस्करीमा मुछिएर कारबाहीमा परेका प्रहरी अधिकारी हुन् । उनीसँगै तस्करीमा मुछिएका नेपाली सेनाका कर्णेल राम्जी थापाको जागीर गए पनि रानालाई नसियत दिएर नेताको दबाबमा जोगाइएको थियो ।

राना कास्कीमा रहँदा प्रहरीकै छविमा आघात पुग्नेगरी गुण्डाहरूसँगको हिमचिमबारे तत्कालीन आइजी सर्वेन्द्र खनालसम्मै सूचना पुगेपनि उनलाई कारबाही गर्न सकेनन् । रानाको गुण्डानाइके ललित गुरुङ र धनबहादुर छन्त्याल लगायतसँगको सम्बन्धका कारण पनि विवादमा परेका थिए ।

घरजग्गा कारोबारीहरूसँग तर्साएर असुली गर्ने गुण्डानाइकेहरूसँग रानाको उठबसका कारण पनि उनी विवादमा परेको खबर आएको थियो । कास्की जानेक्रममै विमानस्थलदेखि नै गुण्डाहरूले स्कर्टिङ गरेपछि उनी थप विवादमा आएका थिए ।

ललित गुरुङ र रानाको हिमचिमले पोखराका पर्यटन व्यवसायीहरूनै आतंकित भएका थिए । त्यसो त एकताका महानगरीय अपराध महाशाखामा चोर, गुण्डाहरूसँग रकम असुलेको आरोपमा उनलाई बयानसमेत गराइएको थियो । उनी विवादमा आएका कारण व्याचीहरू डिआइजीमा बढुवा हुँदासमेत दुई पटक छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्