काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको तालिका सार्वजनिक भएको हो । क्यानले सोमबार साँझ तालिका सार्वजनिक गरेको हो ।

मङ्सिर १ गतेबाट २७ गतेसम्म चल्ने नेपाल प्रिमियर लिगको पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले उद्घाटन खेल खेल्नेछन् । उद्घाटन खेल मङ्सिर १ गते दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
त्रिवि क्रिकेट मैदानमा फ्लडलाई जडानको कार्य भइरहेको छ । नेपाल प्रिमियर लिग डे नाइट फर्म्याटमा खेलाउने हिसाबले तालिका सार्वजनिक भएको छ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको फाइनल खेल मङ्सिर २७ गते शनिवार साढे ३ बजे सुरु हुनेछ । पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।











