काठमाडौं । लगातार तीन कारोबार दिन घटेको सेयर बजार मंगलबार सुधारोन्मुख बनेको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५ अंकमा पुगेको हो ।

बजार सुरुवातमा ओरालो लागे पनि दिउँसो करिब साढे १ बजेपछि सुधार देखियो । कुल १४२ कम्पनीको मूल्य बढ्दा १०२ कम्पनीको घट्यो र १० कम्पनीको मूल्य स्थिर रह्यो । आज कारोबार रकम घटेर ३ अर्ब ६२ करोड रुपैयाँमा सीमित रह्यो, जबकि अघिल्लो दिन ४ अर्ब ५१ करोडको कारोबार भएको थियो ।
समूहगत कारोबारमा मिश्रित अवस्था
समूहगत सूचकहरूमा सामान्य उतार–चढाव देखियो । बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० र व्यापार ०.६९ प्रतिशतले बढे । त्यसैगरी अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०,२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ र विकास बैंक ०.४७ प्रतिशतले घटे ।
नयाँ कम्पनीहरूको सेयरमा उत्साहजनक उछाल
आज चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ती सबै हालै सूचीकृत कम्पनी हुन् बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावर।
त्यस्तै, दरामखोला हाइड्रोपावर ६.८८ प्रतिशत, इस्टर्न हाइड्रोपावर ६.२९ प्रतिशत, र स्वस्तिक लघुवित्त ४ प्रतिशतले बढे ।
विपरीत रूपमा, सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशतले घट्यो ।
बढी कारोबार भएका कम्पनीहरू
आजको कारोबारमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर अग्रस्थानमा रहे ।











