काठमाडौं । सरकारले एमसीए–नेपालद्वारा निर्माणाधीन ४०० केभी क्षमताको विद्युत् प्रसारणलाइनको दायाँ–बायाँ क्षेत्रभित्र कुनै पनि प्रकारका संरचना निर्माण गर्न वा रुख रोप्न निषेध गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार र सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार प्रसारणलाइनको मध्यरेखाबाट दायाँ र बायाँ २३–२३ मिटर दूरीसम्म पर्ने करिब १३८१ हेक्टर क्षेत्रफलमा यो प्रतिबन्ध लागू हुनेछ । सो क्षेत्र नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्नेछ ।
यस निर्णयअनुसार सो क्षेत्रभित्र कुनै पनि किसिमका स्थायी वा अस्थायी संरचना निर्माण गर्न, रुख रोप्न वा अन्य गतिविधि सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।
बैठकले साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।











